प्रचण्ड समुहको आमहडतालले जनजीवन कष्टकर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको आम हड्तालका  कारण आज काठमाडौंमा जनजीवन अस्तव्यस्त भएको छ ।

प्रचण्ड–नेपाल समूहले आज बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ। यो समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी  देशव्यापी आमहड्तालको घोषणा गरेको थियो। बिहानैदेखि सामान्य रुपमा सवारीसाधन चलेका छन्।

शान्तिपूर्ण आमहड्ताल गर्ने भनिएतापनि आज बिहानै काठमाडौँको गोंगबुमा एउटा  ट्याक्सीमाथि आगजनी भएको छ। कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी  गरेका  छन् । यस्तै हडताल  सफल पार्न बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन  गरिएको छ। केही ठाउँमा बन्दकर्ता र प्रहरीबीच मुठभेड पनि भएको छ। सडकमा टायर बालेर प्रदर्शन गरेका बन्दकर्ता र प्रहरीबीच ठाउँठाउँमा मुठभेड भएको हो।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड –माधव समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो। शुक्रबार भने केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। त्यसका लागि बाहिरी जिल्लाबाट आउने कार्यकर्ता रोक्नका लागि पनि आमहड्ताल गरिएको बताइएको छ