साफ उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं ।तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्नेछ । माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार ८:४५ बजे सुरु हुनेछ । लिग चरणको विजेताको रूपमा भारतले फाइनल खेल्न लागेको हो भने नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो। आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले चिरपरिचित दुई प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
भारतले समुह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ। नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ। नेपाली टोलीको मुख्य खेलाडीको रुपमा अघि बढेका अन्जन विष्ट भने आजको खेल खेल्न नपाउने भएका छन्।

भारत र बंगलादेशविरुद्धको खेलमा १(१ गरी दुईवटा पहेंलो कार्ड पाएपछि अन्जनले आजको खेल गुमाउन लागेका हुन्। जारी प्रतियोगितामा दुई गोल गरिसकेका अन्जनको अनुपस्थितिले आजको फाइनल खेलमा नेपाललाई घाटा हुन सक्ने अनुमान गरिएको छ।
भारतका फरवर्ड फारुख चौधरी चोटका कारण र प्रशिक्षक स्टिमाच र अन्य खेलाडी पनि रातो कार्डका कारण मैदान बाहिरै रहनेछन्। खेलअघिको पत्रकार सम्मेलनमा कप्तान किरण चेम्जोङले आजको जीतका लागि पुरानो घाउ बिर्संदै आक्रमक रुपमा खेल्दै इतिहास रच्ने बताएका छन्।
साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो ।
त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ ।