नेप्से लयमा फर्कियो ,सर्वसाधारण लगानीकर्तालाई उत्साहित बनाउने अनुमान

काठमाडौं । आज सेयर वजार फेरि लयमा फर्किएको छ । नेप्से सूचकका साथमा कारोबार भोलुमले पनि राम्रो साथ दिंदै गएको छ । यसले बजार थप दिगो सुधारतर्फ अघि बढ्न थालेको विश्वास गरिएको छ । यसअघि छोटो समयमा नेप्सेमा राम्रै करेक्सन भइसकेकाले पनि अब बजार वृद्धिका लागि थप सजिलो भएको विश्लेषकहरुको भनाई रहेको छ । वित्तीय प्रणालीमा पर्याप्तमात्रामा लगानीयोग्य रकम रहेको छ ।

ब्याजदर सस्तो छ । यसले पनि सेयर बजारको आगामी यात्रा थप सकारात्मक हुने अपेक्षा गरिएको छ । यस्तै, तेस्रो त्रैमासमा सूचीकृत कम्पनीहरुले औसतमा राम्रो प्रदर्शन गरे । बैंकहरुको कमाई पनि आकर्षक देखिएको छ । यसले गर्दा पनि सर्वसाधारण लगानीकर्तालाई उत्साहित बनाउने अनुमान गर्न सकिन्छ ।

यसबाट लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । यतिबेला लगानीका लागि सेयर बजार राम्रो विकल्प भएको छ । यसले पनि बजारमा सकारात्मक माहोल ल्याउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । यो भन्दा पनि अझ महत्वपूर्ण पक्ष भनेको बजारमा ठूलै करेक्सन आएकाले सेयर भाउहरु निकै सस्तो भएको छ । मूल्य सस्तो भएकाले पनि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सबैखाले लगानीकर्ताको आकर्षण वृद्धि हुने देखिन्छ ।

बजारले आफ्नो करेक्सनको रेखाहरु पूरा गरेपछि फेरि लयमा फर्किन थालेकाले अब नेप्से थप नयाँ उचाईमा पुग्न सक्ने विश्लेषकहरुको अनुमान छ । बजार बढ्दा होस् या घट्दा, आम लगानीकर्तामा धैर्यता र अनुशासन आवश्यक हुन्छ । आत्तिएर निर्णय लिंदा फाइदाजनक नहुन पनि सक्छ । नेप्से सूचक ५४ अंकले बढेर २६६५।११ विन्दुमा आइपुगेको छ ।