केपी शर्मा ओली फेरि प्रधानमन्त्रीमा नियुक्त,सपथ ग्रहण भने भोलि |

एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति १० बज्न लाग्दा राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ ।
वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
राष्ट्रपति कार्यालयले विहीबार राति एक विज्ञप्ति जारी गर्दै धारा ७६ को उपधारा २ अनुसार कसैको पनि दाबी नपरेको उल्लेख गरेको छ ।